नेपालगन्जमै ‘पिपिई’ बनाउँदै
कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न डक्टरले लगाउनुपर्ने पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) को उत्पादन नेपालगन्जमै सुरु भएको छ । देशभर पिपिईको अभाव देखिएको बेला नेपालगन्जकै एक ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन सुरु गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलमा रहेको लुम्बिनी ईण्डष्ट्रिज प्रा.लि. ले उपमहानगरपालिकाको माग पूर्तिकालागि पिपिई उत्पादन सुरु गरेको हो । अहिलेसम्म १ हजार पिस पिपिई उत्पादन गरीसकेको र उपमहानगरपालिकाले माग गरेको १ हजार ७ सय पिस पिपिई उत्पादनको क्रममा रहेको उद्योगका संचालक कश्मीरा खातुनले जानकारी दिईन ।
भेरी अस्पताल नेपालगन्जका डक्टर पारश पाण्डेले दिएको डिजाईन अनुसार आफुहरुले पिपिई उत्पादन गरीरहेको खातुनले बताईन । पछिल्लो समय बाँकेका अलावा सुर्खेत, बर्दिया, दाङ र चितवनबाट समेत पिपिईको माग बढिरहेको बताउँदै खातुनले पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघको माग अनुसार १ हजार पिस पिपिई उत्पादन गरीसकेको जानकारी दिईन ।
अन्य समयमा वर्षातकालागि आवश्यक रेनकोट उत्पादन गर्दै आएको उद्योगले कोरोना भाईरसको संक्रमण देखिएपछि सरोकारवालाहरुको सुझावका आधारमा पिपिई उत्पादन सुरु गरेको हो ।