विद्युत महशुलमा २० प्रतिशत छुट

काठमाडौं,सरकारले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महशुलमा छुटको तयारी गरेको छ ।

कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकाले लकडाउन गरेसँगै बजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना हुन नदिन विकल्पका रुपमा इन्डक्सन चुल्होको प्रयोगमा विद्युत महशुलमा छुट दिने तयारी गरेको हो।

ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत मन्त्री मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस्तो व्यवस्था मिलाउन मौखिक निर्देशन दिएको मन्त्री पुनको निजी सचिवालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।

यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने समेत निर्णय गरेको थियो।