लकडाउनपछि पनि सुदूरपश्चिममा नाकाबाट १ लाख ४० हजार नेपाली भित्रिए

काठमाडौं, कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै सरकारले लकडाउन गरेपछि भारतबाट करिब १ लाख ४० हजार नेपाली स्वदेश फर्किएका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने सुदूर पश्चिम प्रदेशस्थित गौरीफण्टा,धनगढी, गड्डाचौकी महेन्द्रनगर, दार्चुला र झुलाघाटबैतडीलगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको विवरण प्राप्त भएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका ९ जिल्ला, चितवन र प्रदेश नं २ सम्म पुग्न आएका व्यक्तिहरूलाई पठाइएको छ र यी मध्ये कसैमा पनि संक्रमण नदेखिएको दाबी गरे ।

अब स्थानीय सरकारहरूले आआफ्नो पालिकामा आइपुगेका हरेक आगन्तुकलाई एकान्तबासमा राख्ने, घुलमिल नगराउने तथा तोकिएको अवधिसम्म हेरेर संक्रमणबाट सुरक्षित हुन सक्रिय रहने भूमिका निर्वाह गर्नु अत्यावश्यक भएको उनले बताए ।

सबै स्वास्थ्यचौकी, स्वस्थ्यकर्मी र स्वास्थ्य कार्यकर्ता एवं राजनीतिक कार्यकर्ताहरू समेत अपडेट भएर जनताको जीवनरक्षाको यस अभियानमा सावधानी, सचेतनता र सक्रियताका साथ जुट्नु जरूरी देखिएको उनले बताए ।