कोरोना विरुद्ध काठमाडौंमा सांसदहरूको भेला

काठमाडाैं , संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारको आग्रह कार्यान्वयन गर्न अपिल गरेका छन्।

शनिबार काठमाडौंको मण्डिखाटारमा एक सांसदको घरमा भएको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।

भेलापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेका कदमहरु, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण भएमा नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको बताए।

उनले सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिए। भने, ‘कोभिड १९ कोरोना भाइरसबारे बारेमा र यसको असरबारे सरकारले चालेका कदम, जनचेतना र यसलाई रोकथाम गर्ने उपायबारे, रोग लागिसकेपछि नियन्त्रण गर्नका लागि उपचारको प्रबन्धका विषयमा छलफल गयौं।

’ उनले जनताका समस्याहरु र आर्थिक क्षेत्रमा परेको असरको विषयमा सरकारलाई जानकारी गराउने विषयमा समेत छलफल भएको बताए। नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउनु आग्रह गर्ने विषयमा छलफल भएको पनि बताए।

नेपाल भारत सीमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको थापाले बताए। ‘अस्पतालको निम्ती तयारी गर्नुपर्ने कुराहरुको सन्दर्भमा पनि स्वास्थ्य मन्त्रालयले जुन नयाँ निर्णय गरेको छ त्यो तत्काल कार्यान्वयनमा जाओस्, फेरि कार्यान्वयन गर्न केही समय लाग्ने हो।

भने भयाभह स्थिति आयो भने त्यो बेलामा जुटनाका निम्ती हाम्रो पूर्वतयारी भएको हुँदैन, यो कुरामा सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल भयो।’ छलफलमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्तबुझ्दो नभएको बताएका थिए।

नागरिकमाथि जनचेतना फैलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएको र राजनीतिक दलहरुले उनीहरुलाई सघाउने विषयमा समेत छलफल भएको थियो। त्यस्तै सांसदहरुले कोरोनाको संक्रमणको जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखि नै सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।