नक्कली आर्मी बनेर ठगी गर्ने पक्राउ

झापा, प्रहरीले नक्कली आर्मी बनेर लामो समयदेखि स्थानीयलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने ४६ वर्षीय राजकुमार राउतलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो ।

उनले आफू नेपाली सेनाको मान्छे भएको र ब्यारेकमा मेसको काम गर्ने भन्दै स्थानीय पसलेहरुलाई सस्तोमा सामान मिलाइदिने प्रलोभनमा ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसलका संचालक डाक बहादुर राईलाई सामान सस्तोमा मिलाइदिने भन्दै एक लाख दुई हजार ठगी गरेका थिए ।

प्रहरीले टोलीले उनलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनको साथबाट नगद ५४ हजार, सिम सहितको मोवाएल थान १ र सिमकार्ड थान १ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा उनले आफ्नो नाम समेत ढाटेर फरक-फरक सिम कार्ड प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ ।

उनले झापाको चन्द्रगढी, चारआली,धुलावारी,बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, ईटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौं स्थानहरुमा किराना पसलहरुलाई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौं मानिसहरुलाई झुक्याइ लाखौं रकम ठगी गरेको खुलेको छ ।