काठमाडौँबाट दुई दिनमा डेढ लाखभन्दा बढी यात्रु बाहिरिए

काठमाडौँ, सरकारले चैत ७ गतेदेखि सबै शैक्षिक संस्थाहरु बन्द गरेपछि राजधानी छोडेर बाहिरिनेको संख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सम्भावनाबाट बच्‍न सरकारले शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार शुक्रबार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्ममा झन्डै ६८ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

यात्रुहरु टिकट नपाएपछि मुडामा बसेरसमेत घर फर्किरहेका छन्। ट्राफिक प्रहरीका अनुसार शुक्रबार मात्रै ११ हजार ६ सय ९० यात्रुवाहक सवारी साधान उपत्यकाका विभिन्न नाकाबाट यात्रु बोकेर बाहरिएका छन्। प्रमुख ढकालका अनुसार यही समयमा उपत्यका भित्रिने यात्रुबहाक साधनको संख्या ५ हजार २ सय ९५ रहेको छ भने यात्रुको संख्या २६ हजार २ सय ९१ छ।

नागढुंगाका अलावा फर्पिङ, मुड्कु, जगाती र नागढुंगाबाट यात्रुहरु बाहिरिने गरेका छन्। शैक्षिक संस्था बन्द भएसँगै घर फर्कने यात्रुको संख्या बढेको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकाल बताउँछन्। अहिले पनि टिकट काउन्टरमा यात्रुको भीड छ। बिहीबार झन्डै ९० हजारले उपत्यका छाडेका पनि ढकालले बताए।