अब सिमाना र विमानस्थल दुई सातासम्म बन्द हुने
काठमाडौं,सरकारले कम्तीमा दुई सातासम्म सीमानाका र विमानस्थल बन्द गर्ने तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल बीच शुक्रबार बिहान भएको छलफलपछि सरकार यस्तो तयारीमा जुटेको हो।
‘सरकारले कम्तीमा १५ दिनसम्म विमानस्थल र छिमेकी देशहरुसँगको सिमाना बन्द गर्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘त्यसका लागि आवश्यक तयारी थालिएको छ, प्रधानमन्त्रीले आजै गर्ने सम्बोधनमा त्यो घोषणा हुन सक्छ।’
चीन पछि भारतमा संक्रमण बढ्दै गएपछि सिमाना बन्द गर्नु पर्ने अवस्था आएको बताइएको छ । भारतसँग नेपालको खुला सिमाना भएको र निर्वाध आवतजावत हुनाले संक्रमणको चुनौति कम गर्न दुबैदेशको सहमतिमा सिमाना निश्चित अवधिका लागि बन्द गर्न लागिएको हो ।
सरकारले कोरोना भाइरस संक्रमितको १ सय बेड भन्दामाथिका जुनसुकै अस्पतालमा पनि हुने उपचार निशुल्क गरिदिने भएको छ। ‘सय बेड भन्दा माथिका निजी या सरकारी अस्पतालमा उपचार गरेको अवस्थामा सबै खर्च सरकारले व्यहोर्ने भएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।