अब मापसेको कक्षा लिनु नपर्ने, जरिवानामात्रै लाग्ने

काठमाडौँ,विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड –१९ (कोरोना) भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवा प्रवाह गर्ने भएको छ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले विशेष सेवा प्रवाह गर्न लागेको हो ।

उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने स्थानहरूमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउने गरी प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाइएको ढकालले बताए । उनले भने, “विशेष टोलीले सिट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भिडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन् ।”

महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको एसएसपी ढकालले बताए ।

सचेतना कक्षा बन्द

ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।

एसएसपी ढकालले भने, “मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ ।”

ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।