भारतमा कोरोना फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवा रोक

बाँके ,भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवामा आजदेखि रोक लगाइएको छ । नेपालगन्जको जमुनाह नाका भएर दैनिक एक दर्जन बस भारतको दिल्लीका लागि छुट्ने गरेका थिए ।

दिल्लीमा कोरोनाको संक्रमण फैलिने क्रम बढेपछि भारतीय सुरक्षा अधिकारीहरुसँगको छलफलमा नेपालगन्ज–दिल्ली यातायात सेवामा अनिश्चितकालका लागि रोक लगाएको बाँकेका एसपी बीरबहादुर ओलीले जानकारी दिए।

आज दिल्ली जान हिडेका बसहरुलाई जमुनाह नाकाबाट फर्काइएको छ । त्यस्तै अन्यसवारी साधनलाई समेत भारत लैजाने निषेध गरिएको छ । नेपालगन्जको चौलिकादेखि नाका तिर कुनै पनि सवारी साधन लैजान नपाउने एसपी ओलीले बताए । ओलीका अनुसार भारत जानै परे पैदल जानु पर्नेछ । चौलिकाबाट रुपैडिया पुग्न तीन किलोमिटर पैदल हिड्नु पर्ने छ ।

आजदेखि सीमामा भारतबाट फर्किने र भारत प्रवेश गर्ने मानिसहरुलाई समेत अत्यन्तै कडाई गरिएको छ । भारततर्फ जाने यात्रुलाई भारतीय सुरक्षा बल एसएसवीले स्वास्थ्य जाँच गर्ने गरेको छ भने नेपाल प्रवेश गर्ने यात्रुलाई हेल्प डेक्समा स्वास्थ्य जाँच गराएरमात्र आउन दिने गरिएको छ ।