कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार नजिक

काठमाडौं , कोरोना अर्थात कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुगेको छ। कोरोना संक्रमणको तथ्यांक दिइरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म ७,९८७ जनाले महामारीको रूप लिएको कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्‌।

पछिल्लो २४ घण्टामा विभिन्न देशमा गरि थप ८ सय २० जनाको मृत्यु भएसँगै हालसम्म यस भाइरसको संक्रमणका कारण ७ हजार ९ सय ८७ जनाले ज्यान गमाएका हुन्‌। हिजोसम्म १ सय ६० देशमा यस भाइरसको संक्रमण देखिएकोमा आज बढेर १ सय ६५ देशमा संक्रमण देखिएको छ।

भाइरस संक्रमण्का कारण चीनमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ३७ पुगेको छ। यस्तै पछिल्लो समय इटालीमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। इटालीमा थप ३ सय ४५ जनाको मृत्यु भएको छ भने हालसम्म त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ।

यस्तै इरानमा थप १ सय ३५, स्पेनमा थप १ सय ९१, फ्रान्समा थप २७ जनाको मृत्यु भएको छ। यसैगरी अमेरिकाको सबै ५० राज्यमा कोरोनाको संक्रमण देखिएको छ। वेष्ट भर्जिनियामा हिजो एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो। अमेरिकामा अहिलेसम्म ६ हजार ४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा १ सय ११ जनाको मृत्यु भएको छ।