केटाकेटीले आगो खेलाउँदा चार घर जलेर नष्ट

खोटाङ , खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।

केटाकेटीले खेलाउँदै गरेको आगो एक्कासि हावाले उडाएर घर सल्किँदा स्थानीय लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो। आगलागीमा झनबहादुरको अनुमानित आठ लाख रुपैयाँ, लोकेन्द्रको पाँच लाख रुपैयाँ, जोखेको पाँच लाख र सीतादेवीको करिब चार लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट विस्थापितलाई बुधबार हलेसी तुवाचुङ नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ। आगलागी पीडितलाई नगरपालिकाकातर्फबाट प्रतिघर २० केजीका दरले चामल, दाल, नुन, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायतका राहत सामग्री प्रदान गरिएको नगरप्रमुख इवन राईले बताए।

सल्लेस्थित वडास्तरीय विपद् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्निपीडित प्रतिपरिवार तीन हजारका दरले राहत रकमसमेत प्रदान गरेका छन्। आगोलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। मंगलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए।