भक्तपुरमा ३२ हजार दादुरा–रुवेला खोप लागाईँदै
भक्तपुर ,यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान शुरु भएको जानकारी दिए। जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको छ। उनले भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिकामा १९८ खोप केन्द्र, प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन भएका र खोप केन्द्रमा दुई जनाका दरले स्वयंसेविका परिचालित रहेका जानकारी दिए।
स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्यकाअनुसार सरकारले पहिलो चरणमा गत फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप अभियान सञ्चालन गरेको थियो। दोस्रो चरणमा सोमबारबाट शुरु भएको अभियानमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने भएको छ।
पहिलो र दोस्रो चरणको खोप अभियानमा करिव ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य रहेको जनाइएको छ। दादुरा–रुवेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो। हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ। यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ सञ्चालन भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुवेला निवारण देश बनाउने लक्ष्य लिएको थियो।
तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ। अहिले ७३ प्रतिशत बालबालिकामा पूर्ण खोप पाएका छन्। पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ। प्रत्येक १० लाख जनसङ्ख्यामा पाँच जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ। सो खोप अभियानका लागि करिब ३० करोड खर्च हुने अनुमान गरेको छ। ती मध्ये नेपाल सरकारको १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले २० करोड रहेको बताइएको छ।