इरानमा रहेका नेपाली ‘सुरक्षित’
काठमाडौँ, कोरोना भाइरस संक्रमण(कोभिड–१९)का कारण चर्को सन्त्रास बेहोरिरहेको पश्चिम एसियाली मुलुक इरानमा बसोबास गर्दै आएका २ दर्जन नेपालीले आफूहरु सुरक्षित अवस्थामा रहेको बताएका छन् ।
इरानको तेहराननजिकै हिउँ जमेको पहाडनजिकै नेपाली भेला तस्बिर सौजन्य स् शालिग्राम बन्जाडे
‘हामी अहिलेसम्म सुरक्षित अवस्थामा छौं, सबैजसो नेपाली राजधानी तेहरान आसपासमैं भएकाले नियमित सम्पर्क भइरहेको छ,’तेहरानको मेक्सिको राजदूतावासमा कायरत रहेका अर्घाखाँचीका शालिकराम बन्जाडेले कान्तिपुरसँग फोनमा भने, ‘इरानमा मात्रै कोरोना संक्रमणका कारण ९ सयभन्दा बढी सर्वसाधारणको निधन भएको र १५ हजारजति संक्रमित भएको खबर सुनेका छौं । यो खबरले सन्त्रास बढे पनि हामी भने सुरक्षा घेरामै बसेका छौं ।’
दुई दशकयता इरानमा बस्दै आएका बन्जाडेले तेहरानस्थित अष्ट्रेलियन, श्रीलंकन, सिरियन, बहराइन, जर्मनलगायतका दूतावासहरुमा नेपालीहरु कार्यरत रहेको बताउँदै कुटनीतिक नियोगमा कार्यरत रहेका कारण पनि संक्रमणबारेको सुरक्षारसरोकार उल्लेख्य रहेको जानकारी दिए ।
‘इरानमा यो २० मार्चमा नयाँ वर्ष ‘नवरोज’ सुरु हुँदैछ,’ उनले भने, ‘यसकारण कोरोना सन्त्रास रहे पनि यहाँको बजार खुला छ, आवतजावत पनि सहज छ । हामीले त्यस्तो कठिनाइ बेहोर्नुपरेको छैन ।’ इरानको कुटनीतिक मामला हेर्ने पाकिस्तानको इस्लामाबादस्थित राजदूत सेवा लम्सालले तेहरानमा रहेका सबै नेपालीसँग निरन्तर सम्पर्क भइरहेको र अहिलेसम्म नेपालीमा कोरोना संक्रमणबारेको सूचना नआएको जानकारी दिइन् ।
मंगलबार बिहानसम्म इरानमा कोरोना संक्रमणबाट ८ सय ५३ जनाको मृत्यु भएको छ भने १४ हजार ९ सय ९१ जना संक्रमित भएका छन् । इरानमा सोमबार मात्रै एक सय २९ जनाको मृत्यु भएको छ भने थप एक हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।