अनुमति विना दैलेखमा आए भारतीय प्रहरी
दैलेख , पोसाकसहितका भारतीय प्रहरी विना अनुमति दैलेख अपराध अनुसन्धानका लागि आएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिई चारजना भारतीय प्रहरीको टोली पोसाकसहित दैलेख आएको हो।
भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि मंगलबार बिहान पोसाकसहित बजारमा हिँडेको देखेपछि भारतीय प्रहरी दैलेखमा आइपुगेको जानकारी भएको थियो। स्थानीय देवकोटा चोक जिल्ला प्रहरी कार्यालय दैलेख अगाडि पोसाकसहित भारतीय प्रहरी देखेपछि स्थानीयले विरोध जनाएका थिए।
उनीहरूलाई दैलेख प्रहरीले सोधपुछका लागि कार्यालयमा बोलाएको थियो। भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए।
भारतमा घरेलु कामदारको रूपमा काम गर्दै आएका दैलेखका एक युवकले काम गर्ने घरका मानिसलाई विष सेवन गराएर २५ लाख रुपैयाँ लुटेर फरार भएको निवेदन प्रहरीमा परेको थियो। त्यसको अनुसन्धानका लागि उनीहरू दैलेख आएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख सावतले बताए।