‘ग्यास अभाव छैन, आवश्यकताभन्दा सञ्चय नगर्नुस्’

काठमाडाैं ,नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ। संघले विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताएको छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले पनि जानकारी दिएकाे छ ।

कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्यास भरेर राखेकाले केही समस्या सिर्जना भएको संघले जनाएको छ। ग्यासको आयात विगतभन्दा बढी भएकाले उपभोक्ताहरूले धैर्य गरी आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न पनि आग्रह गरेको छ।

संघका अध्यक्ष गोकुल भण्डारीले कोरोनाको प्रभाव नेपाल परेपछि के हुने हो भन्ने त्रासका कारण केही उपभोक्ताले ग्यास सञ्चय गरेको र अन्य केही उपभोक्तले तत्काल पाउन नसकेका कारण यो अवस्था आएको बताए।

एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर (ग्यास सहितको सिलिण्डर) बिक्री वितरण नगर्न पनि बिक्रेताहरुलाई आग्रह गरेको छ। आम उपभोक्तको हितलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था सहज राख्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्।