कोरोना सचेतनाका लागि गाउँपालिका उपाध्यक्षद्वारा मास्क वितरण

कालिकोट, कालिकोट जिल्लाको पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने ‘साधना’ले विद्यार्थीलाई मास्क वितरण गरेकी छन् । कोरोना भाइरसको बारेमा सचेतना बढाउनका लागि विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो ।

गाउँपालिकामा कक्षा १ देखी ९ सम्मका विद्यार्थीको बार्षिक परीक्षा सञ्चालन भइहेको छ । परीक्षा अवधीभर विद्यालयहरुमा विद्यार्थीको उपस्थिति बढ्ने हुँदा सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले मास्क वितरण गरिएको उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

कोरोना भाइरसको बारेमा सचेतना अपनाउनका लागि धेरै मान्छे जमघट हुने प्रकृतिका कार्यक्रमहरु पालिकाले स्थगित गरेको बताउदै उपाध्यक्ष न्यौपानेले परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना भाइरसका बारेमा सचेत तथा सुरक्षित अनुभुती दिलाउनका लागि आफुले व्यक्तिगत तवरबाट मास्क वितरण गरिएको जानकारी दिइन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका त्रासका कारण सार्वजनिक एवं व्यक्तिगत प्रयोजनका लागि मानिसको भिडभाड हुने कार्यक्रमहरु नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन सरकारले आग्रह गरेको छ ।

सोमबार पचालझरना गाँउपालिका वडा नं ४ राम्नाकोटमा रहेको श्री ज्ञानोदय माध्यामिक विद्यालय परीक्षारत ३ सय ३६ जना विद्यार्थीलाई मास्क वितरण गरिएको छ । उपाध्यक्ष आफै विद्यालयमा पुगेर मास्क वितरण गरेकी हुन् । पालिकाभरका सम्पुर्ण विद्यार्थीहरुलाई मास्क वितरण गरिने उपाध्यक्ष न्यौपानेको योजना छ । पचालझरना गाउँपालिकामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको बार्षिक परीक्षा चलिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरीसकेको छ । कोरोनाको संक्रमण चीनले नियन्त्रण गरेपनि अन्य देशमा भने हावाको गतिमा फैलिएको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिका लगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।