कोरोना रोक्न सरकारले २ सय ३५ आइसियू बेड तयार पार्दै

नोभल कोरोना (कोभिड १९) बाट हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राखी सरकारले २ सय ३५ वटा आइसियू बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले संघ र प्रदेशमा यी बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको हो। साथै १ हजारको संख्यामा आइसोलेसन बेडहरू पनि तयारी अवस्थामा राख्ने निर्णय बैठकले गरेको छ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको छाउनी र भद्रकाली तथा कीर्तिपुरको आर्युवेद अस्पतालमा २०-२० वटाका दरले गरी १ सय २० वटा आइसियू बेड निर्माण गरिने जानकारी दिए।

सरकारले बागमती प्रदेशबाहेक ६ वटा प्रदेशका १ सय १५ वटा आइसियू बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको उनले जनाए। त्यस्तै आइसोलेसन वार्ड पनि कीर्तिपुरमा २ सय जनालाई, खरिपाटीमा २ सय २० जनालाई, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालहरूमा १ सय वटा र इचङ्गुनारायणमा सरकारले बनाएको भवनहरुमा २ सय ५० वटा गरी कुल १ हजार वटा बेडहरु तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।

पिपिइ र डाइगोनेस्टिक किटहरु पनि तत्काल खरिद गरी सबै प्रदेशमा पठाउने तयारी भइरहेको समेत सचिव बिडारीले बताए। त्यस्तै भारतसँग जोडिएका १ सय २८ स्थानीय तहहरू र त्यहाँ आवागमन हुने ठाउँहरूमा ज्वरो नाप्ने थर्मल गन पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

त्यस्तै कोरोना भाइरस संक्रमणको स्थितिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुका लागि टिओआर बनाएर तलब स्केल इन्सेन्टिभका रूपमा दिने व्यवस्था सरकारले गर्ने भएको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लगिने र मन्त्रिपरिषदबाट निर्णय भएपछि उच्चस्तरिय समितिको सिफारिसमा कार्यान्वयनमा ल्याइने बताइएको छ।