स्कुल बस दुर्घटना हुदा तीन विद्यार्थी घाइते

कञ्चनपुर , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११, कलुवापुरस्थित युनिभर्सल बाल विद्या निकेतनको बस आइतबार दुर्घटना हुँदा तीन विद्यार्थी घाइते भएका छन्।

म १ ख ४२४ नम्बरको बस विद्यालय बिदापछि आधारभूत तहका विद्यार्थीलाई घर पुर्‍याउन जाने क्रममा सरस्वती माध्यमिक विद्यालय नजिकको पोखरीमा पल्टिएको हो। पोखरीमा बस पल्टिँदा तीन विद्यार्थी सामान्य घाइते भएको वडा अध्यक्ष दिलबहादुर बुढाले बताए।

घाइतेमध्ये कक्षा १ मा अध्ययनरत रेनुका लुहारको पेटमा चोट लागेकाले थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ। दुई विद्यार्थीको नजिकैको निजी मेडिकलमा उपचारपछि घर फर्किएका छन्।

उनका अनुसार बसमा ३३ विद्यार्थी सवार थिए। पोखरीमा बस पल्टिएपछि स्थानिय बासिन्दा र प्रहरीले तत्कालै बसमा सवाल विद्यार्थीको उद्धार गरेका थिए। साघुँरो जीर्ण सडकका कारण बस दुर्घटना भएको बताइएको छ।