प्रधानमन्त्री ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन् ।

कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीले गरेको इमर्जेन्सी फण्ड’ बनाउने प्रस्ताव स्वागतयोग्य रहेको बताउँदै विशेष धन्यवाद ज्ञापन गरे ।

‘हाम्रो क्षेत्र कोरोना भाइरस संक्रमको ठूलो जोखिममा छ । यसले कुनै सीमा हेर्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले संयुक्त रुपमा यसविरुद्ध लाग्नुपर्छ । संयुक्त प्रयास आवश्यक छ । अत्यावश्यक बाहेक विदेश भ्रमण गर्नु उचित समय होइन ।’

प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोक्न परम्परागत औषधीलाई प्रोत्साहन गर्नुपर्ने तथा नमस्कारलाई प्राथमिकता दिनपर्ने बताए । उनले सीमाक्षेत्रका अस्पतालहरुलाई सीमा पार बिमारीहरुको उपचार गर्न समेत दिइनुपर्ने धारण राखे । यसलाई प्रोत्साहन समेत गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले अत्यावश्यक औषधी र सरसफाई विशेष ध्यान दिन समेत सबैलाई सुझाए । उनले सार्क इमर्जेन्सी मेडिकल सेन्टर आवश्यक रहेको बताए ।

उनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाईमा नेपालको ऐक्यवद्धता रहेने जनाए । उनले कोरोना भाइरस संक्रमणको सन्त्रासले ठूलो आर्थिक चुनौती थपिएको बताउँदै यसका लागि आवश्यक सहकार्यर छलफल आवश्यक रहेको बताए ।

‘आर्थिक उन्नतिका लागि क्षेत्रीय छलफल आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अन्तरक्षेत्रीय व्यापार, पर्यटन, लगानीमा सहकार्यको आवश्यक जरुरी छ ।’ भारतीय प्रधानमन्त्री मोदीले इमेर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने प्रस्ताव राखेका थिए ।

यसका लागि कुटनीतिक रुपमा अघि भारत अघि बढ्ने प्रधानमन्त्री मोदीले बताए । चिकित्सक तथा स्वास्थ्य उपकरणहरु भारतले तयार गरिरहेको उनले बताए ।

कोरोना भाइरस विरुद्ध साझा धारणा बनाउन आयोजित सार्क राष्ट्रका नेताहरुको भिडियो कन्फरेन्समा सवै मुलुकका प्रतिनिधिहरुले आ–आफ्नो मुलुकमा कोरोनाका कारण सिर्जित अवस्था र आफ्नो राष्ट्रले चालेका कदका बारेमा जानकारी गराएका थिए ।