सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

सिन्धुली ,करेन्ट लागेर कमलामाई नगरपालिकामा एकजनाको मृत्यु भएको छ। हावाहुरी चलेका बेला बत्ती बाल्न खोज्दा स्विचबाट करेन्ट लागेर शनिबार बिहान कमलामाई–७ सिम्लेकी ४० वर्षीया माइतीमाया भोलानको मृत्यु भएको हो।

करेन्ट लागेर तीनजना घाइते भएका छन्। करेन्ट लागेर गम्भीर घाइते भएकी भोलानलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

करेन्ट लागेर सोही ठाउँका २८ वर्षीया देवकुमारी घिसिङ, ४३ वर्षीय पदमबहादुर वाइबा र ४२ वर्षीय ज्ञानबहादुर थिङ घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। घाइते सवैको हत्केला र औंला जलेको प्रहरीले बताएको छ।

माइतीमायाले हारगुहार गर्दा अन्य छिमेकीहरुले पनि आ–आफ्नो घरको बत्ती बाल्दा स्वीचबाट करेन्ट लागेर घाइते भएका प्रहरी नायब निरीक्षक खत्रीले बताए। घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको छ।