नुनमा कालोबजारी गर्नेलाई कारबाहीको माग

काठमाडौं , साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गरेको छ ।

कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् । शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको अनुगमन टोलीले कास्कीको पोखरामा नुनमा कालोबजारी भइरहेको भेट्टाएको थियो ।

साल्ट ट्रेडिङ यस्तो कार्य नगर्न सबै डिलर, थोक तथा खुद्रा बिक्रेतालाई आग्रह गरेको हो । म्यानेजर झाले कालोबजारी गर्नेलाई कारबाही गर्न समेत माग गरे ।

उनले नुनको मौज्दात र आपूर्तिमा समस्या नरहेको पनि जानकारी दिए । उनका अनुसार कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको छ ।

स्टक नुन नै करिब १० महिनाको बजारको माग धान्ने र अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको पनि उनले जानकारी दिए । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुनको खपत हुँदै आएको छ ।