छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा अफ्रिकी राजा पक्राउ

प्रिटोरिया, दक्षिण अफ्रिकाको एकजना जनजाती राजा आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

उनले शुक्रबार बिहान आफ्ना परिवारका सदस्यमाथि कुटपिट गरेको र आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको गरेको प्रहरीले जनाएको छ । परिवारका सदस्यलाई कुटपिट गरेपछि उनका छोरा युवराज अजेनाथी डलिन्ड्येबोले आफ्ना बुवा विरुद्ध उजुरी दिएका थिए ।

राजालाई यसअघि पनि विभिन्न अभियोगमा पटक पटक पक्राउ गरी छाडिँदै आएको दक्षिण अफ्रिकी सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण अफ्रिकाका धेरै जातिहरुमा साँस्कृतिक रुपमा राजवंशको प्रथा रहँदै आएको छ । यद्यपि उनीहरुको कार्यकारी अधिकार भने अत्यन्त सीमित हुने गरेको छ ।