चितुवाको आक्रमणबाट डडेल्धुरामा एक जनाको घाइते

डडेल्धुरा,डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा अमगढी नगरपालिका–११ का ६८ वर्षीय नरफान सार्की रहेका छन्।

शनिबार दिउँसो गाउँ नजिकैको वन क्षेत्रमा बाख्रा चराउन गएका बेला चितुवाले आक्रमण गर्दा सार्की घाइते भएका हुन्। बाख्रा घर ल्याउँदै गर्दा दिउँसो करिब २:३० बजेतिर चितुवाले उनलाई आक्रमण गरेको जनाइएको छ।

चितुवाको आक्रमणबाट उनको देब्रे कानमा चोट पुगेको छ। डडेल्धुरा अस्पतालमा उपचारपछि उनी घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।