कोरोनाको उच्च जोखिममा नेपालगञ्‍ज

बाँके ,नेपालगञ्‍जसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि नेपालगञ्‍जमा कोरोना भाइरसको जोखिम बढेको छ।

नेपालगन्ज नाका भएर दैनिक सरदर पाँच हजार मानिस नेपाल–भारत ओहोरदोहोर हुँदै आएको छ। खुला सीमानाका कारण सहजै आवतजावत हुने भएकोले भारतबाट कोरोना भाइरस नेपालगन्जमा भित्रिन सक्ने सम्भावना प्रवल रहेको भेरी अस्पतालका कोरोना भाइरस फोकल पर्सन समेत रहेका ग्याष्ट्रोलोजिष्ट फिजिसियन डा. संकेत रिसालले बताए। ‘नेपालीहरु कामका लागि मात्र जाँदैनन्, उपचारका लागिसमेत भारतका विभिन्न स्थानमा गएर फर्किन्छन्,’ उनले भने, ‘भारतमा देखिएको कोरोना भाइरसको संक्रमण सजिलै ट्रान्सफर हुने सम्भावना छ।

यसले नेपालगन्ज कोरोनो भाइरसको उच्च जोखिममा छ भन्न सकिन्छ।’ उनले भारतका विभिन्न सहरमा कोरोना भाइरसका बिरामी देखिएकोले नेपालगन्जमा पनि सतर्कता अपनाउन जरुरी रहेको बताए। भारतसँग रोटी र बेटीको सम्बन्ध भएकोले भारतमा देखिएको कोरोना नेपाल सजिलै भित्रिन सक्छ।

बेलैमा सजगता नअपनाए भोलि गएर पछुताउनुसिवाय केही रहँदैन,’ डा. रिसालले भने। भेरी अस्पतालमा छैन कुनै तयारी भारतमा फैलिएको संक्रमण नेपालगन्जमा सजिलै भित्रिन सक्ने भए पनि नेपालगन्जस्थित भेरी अस्पतालले अहिलेसम्म कुनै तयारी गरेको छैन। कोरोना भाइरस संक्रमित फेला परेको खण्डमा राख्नका लागि पाँच बेडको आइसोलेसन वार्ड स्थापना गरिए पनि जाँच र उपचारका लागि कुनै सुविधा नभएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए।

उनले औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड स्थापना गरिएको बताए। ‘आइसोलेसन वार्डमा हुनुपर्ने कुनै पनि सुविधा छैन,’ उनले भने, ‘शंकास्पद ब्यक्तिको ‘थ्रोड स्वाब’ (र्‍यालको स्याम्पल) लिन सक्ने अवस्थासमेत छैन।’ उनले कोरोना भाइरसका शंकास्पद विरामीको थ्रोड स्वाब संकलन गर्ने ज्ञान समेत चिकित्सक र प्राविधिकलाई नभएको बताए। ‘शंकास्पद बिरामीको थ्रोड स्वाब संकलन गरेर टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाउनु पर्ने हुन्छ, तर पठाउनका लागि अस्पतालसँग साधन र दक्ष प्राविधिक छैनन्,’ उनले भने।

उनले कोरोना भाइरसका बिरामी फेला परेको खण्डमा जाँच गर्न नसकिने बताए। बिरामीको जाँच गर्ने बेला स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीइ) नभएकोले जाँच गर्न सक्ने सम्भावना नरहेको डा. थापाको भनाई छ। ‘आफ्नो ज्यान जोखिममा राखेर कोरोना भाइरस लागेका विरामी वा शंकास्पद ब्यक्ति समक्ष जान सक्ने कुरै भएन,’ उनले भने, रेस्क्यू गर्ने साधन पनि अस्पतालसँग छैन।

’ उनले बिरामी जाँच गर्ने बेला लगाउने एन ९५ मास्क पनि भेरी अस्पतालसँग नभएको बताए। शंकास्पद कोरोना भाइरसका संक्रमितलाई राख्नका लागि छुट्टै भवनमा आइसोलेसन वार्ड हुनुपर्ने बताउँदै उनले जनरल वार्ड भएको भवनमै काम चलाउ आइसोलेशन वार्ड स्थापना गरिएको बताए। आइसोलेसन वार्डमा जाने बाटो पनि फरक हुनुपर्ने उनको भनाई छ। łएकदमै संवेदनशील भएकोले चिकित्सक बाहेक अन्य ब्यक्तिको पहुँच नपुग्ने ठाउँमा आइसोलेसन वार्ड बनाउनु पर्ने हो, तर यहाँ औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड बनाइएको छ,’ सुपरिटेन्डेन्ट डा. थापाले भने।