तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न नमिल्ने : चिकित्सक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे । १२ दिनको अस्पताल बसाइपछि उनी डिस्चार्ज भएका हुन् । फागुन १९ गते साँझ अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

तीन महिना एक्सपोज हुन मिल्दैन

चिकित्सकहरुले तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न नमिल्ने बताएका छन् । अस्पताबाट प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै चिकित्सकले साधारण कामहरु केही दिनपछि गर्न मिलेपनि ‘एक्सपोज’ भएर काम गर्न तीन महिना लाग्ने डा उत्तम कुमार शर्माले बताए ।

‘उहाँको अवस्था जोखिम रहित भन्न सकिदैन, तीन महिना कम्तिमा पनि एक्सपोज भएर काम गर्नु हुँदैन । साधारण काम गर्नु हुन्छ तर तपाई र म जसरी कुरा गर्न मिल्दैन’ उनले भने । बालुवाटारमा प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेर बसोबासको व्यवस्था मिलाइएको उनले बताए ।

‘बालुवाटारमा उहाँकोलागि हाइजनिक तरिकाको रुम र इन्भायोरमेन्ट मा पनि संक्रमण नहोस्, मिनिमम भन्दा मिनिमम संक्रमण होस्, एकदम केयरफुल्ली रुपमा मिलाइएको छ’ उनले भने ।

औषधिहरु खाइरहेको र शरीर कमजोर भएका कारण किटाणुले आक्रमण गर्न सक्ने भएका कारण गम्भीर बन्नु पर्ने उनले बताए ।