हिमाली जिल्ला डोल्पामा भारी हिमपात

डोल्पा , हिमाली जिल्ला डोल्पामा जिल्लाभरी नै हिमपात शुरु भएको छ। शुक्रबार बिहानदेखि शुरु भएको मुसलधारे वर्षापछि भारी हिमपात शुरु भएको हो।

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो र मध्ये डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह,लिकु, त्रिपुराकोट,पहाडा,काइगउँ लगायतका बस्तीहरुमा पनि बाक्लो हिउँ जमेको छ। बिहानै देखि शुरु भएको हिमपात पनि जारी रहेको र दिनभर पर्ने वर्षभरिकै बाक्लो हिउँ जम्ने संकेत देखिएको त्रिपुराकोटका स्थानीयले बताए।

बैमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ। प्रत्येक वर्ष हिउँदको समयमा धेरैपटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै कम हिउँपरेको त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीय देबीकृण उपाध्यायले बताए।

फागुन अन्तिममा वर्षासँगै हिउँले हिमाली भेगमा लगाइएको बालीनाली सप्रन फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रने उनले बताउनुभयो। विमानस्थल बन्द बिहानैदेखि वर्षासँगै शुरु भएको हिमपातका कारण जुफाल विमानस्थल बन्द भएको छ। धावन मार्गमै हिउँ जमेपछि शुक्रबार बिहान कुनै पनि उडान नभएको नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।

डोल्पाली जनताका लागि यातायातको एक मात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामाग्री ढुवानी ठप्प भएको छ। शुक्रबार दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको जुफाल विमानस्थलले जनाएको छ।