कोरोनाका कारण प्रधानमन्त्री मोदीले सम्झिए सार्क

काठमाडौं , भारतमा कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क)लाई सम्झिएका छन् । कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले सार्क मुलुकहरुले अब महामारीविरुद्ध लड्न एउटा दरिलो रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिले मानवजातिको अस्तित्व रहेको ग्रहनै कोभिड–१९ महामारीको चपेटमा परेको र समग्र विश्व र दक्षिण एसियाले उक्त चुनौती सामना गरिरहेको बताएका छन् । प्रधानमन्त्री मोदीले एउटा स्वस्थ विश्वको परिकल्पना समेत गरेका छन् ।

यसअघि प्रधानमन्त्री मोदीले पाकिस्तान समेत सदस्य रहेको सार्क संगठनको बेवास्ता गर्दै बिमेस्टकलाई अघि बढाउने रणनीति लिएका थिए । पाकिस्तानमा प्रस्ताव गरिएको १९ औं सार्क शिखर सम्मेलनलाई समेत भारतले बेवास्ता गर्दै आएको छ ।

भारत र पाकिस्तानको द्वन्द्व उत्कर्षमा पुगेपछि भारतले सार्कलाई बेवास्ता गर्दै बिमस्टेक (वे अफ बंगाल इनिसियटिभ्स फर मल्टि सेक्टरल, टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन) लाई विशेष प्राथमिकतामा राखेको आरोप लाग्दै आएको छ ।

नेपालमा सम्पन्न १८ औं शिखर सम्मेलनपछि अहिलेसम्म सार्क सम्मेलन हुन सकेको छैन । सार्क संगठनमा भारतसहित नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, भुटान सदस्य राष्ट रहेका छन् ।