सडकको अवस्था बुझ्‍न मन्त्री मानन्धर पैदल यात्रा

काठमाडौं , शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्।

सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन्। शुक्रबार बिहान मन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्रे गरिएको सडकको अनुगमन गरेका हुन्। यस्तै, बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिंक रोडमा गर्न लागिएको कालोपत्रेबारे पनि मन्त्री मानन्धरले अवलोकन गरे।

सडक कालोपत्रे र रेखांकनको अवस्थाबारे अनुगमन गर्न पुगेका मन्त्री मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारीसमेत दिएका छन्। मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा कालोपत्रे गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरिक्षण गरिने बताए। ठेकेदारले कालोपत्रे गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परीक्षण गरिने बताउँदै मन्त्री मानन्धरले कमसल सामग्री प्रयोग गरेको पाइए कारबाही गरिने चेतावनीसमेत दिए।

शहरको सुन्दरतालाई कायम राख्न र धुवाँ धुलोमुक्त राजधानी बनाउनका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले पछिल्लो समयमा कालोपत्रेको कामलाई तिब्रता दिइएको बताए। भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालयको समन्वयमा उपत्यकाका सडकलाई व्यवस्थित पार्न लागिएको बताउँदै मन्त्री मानन्धरले आफ्नो क्षेत्रमा भएको विकास निर्माणबारे चासो देखाउन सर्वसाधारणलाई आग्रह समेत गरे।

केही समयभित्र उपत्यकाका भित्री र बाहिरी सडकको स्वरूप परिवर्तन हुने बताउँदै मन्त्री मानन्धरले समस्या भएको स्थानका बारेमा सरकारलाई तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन्। पार्किङको दिगो व्यवस्थापन प्रयास मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा बढ्दो शहरी चापका कारण जाम बढेको बताउँदै दिगो पार्किङ व्यवस्थापन पनि थालिएको बताए।

उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिने बताउँदै ट्राफिक प्रहरी महाशाखासँग सम्वन्वय भइरहेको जानकारी दिए। बागमती विष्णुमती धोविखोला लगायतका करिडोर सडकका खाली स्थानमा पार्किङको व्यवस्थापन गर्न लागिएको बताउँदै भित्री शहरका खाली स्थान पहिचान गरेर पार्किङ क्षेत्र तोकिने मन्त्री मानन्धरको भनाइ छ।