१०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजनाको मुआब्जा वितरण

डोल्पा, जगदुल्ला जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य शुरू भएको छ । १०६ मेगावाट विद्युत उत्पादन गर्ने उदेश्यका साथ काम थालिएको  जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य २७ गतेदेखि सुरू भएकाे हाे ।  

विद्युत उत्पादनस्थल मुड्केचुला गाउँपालिका ४ ईल डोल्पाबाट मुआब्जा वितरण कार्य भैरहेकाे मुडकेचुला गाउँपालिका १ नं वडा अध्यक्ष भानुभक्त बोहराले जानकारी दिए। बोहराका अनुसार पहिलो चरणमा ईलवासीले मुआब्जा पाउनेछन् भने दोस्रो चरण अर्थात चैत १४ गते काइगाउँमा मुआब्जा वितरण गरिने बताइएकाे छ ।

ईलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी ५ लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १ सय घरधुरीको प्रतिरोपनी ५ लाख १५ हजार रूपैयाँका दरले मुआब्जा वितरणको कार्य अगाडी बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

कुल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक जटिलतका कारण १०६ मेगावाट विद्युत् उत्पादन गर्नेगरी आयोजना अघि बढाइएको हो । प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरू गरिएको आयोजनाको डीपीआर प्रतिवेदन अबको एक महिनाभित्र आउने बताइएकाे छ । 

२० महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर डीपीआरको कामलाई तीव्रता दिइएको छ। आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका ४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा बाँध (ड्याम) निर्माण गरिनेछ ।

आयोजनाका लागि पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो। अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ। करिब ६।१ किलोमिटर भूमिगत सुरूङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ।

जगदुल्ला गाउँपालिका १ हुरिकोटमा २० मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको चौडाइ १०० मिटर हुनेछ। ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ। डीपीआरको जिम्मा एनइए इन्जिनियरिङले लिएको थियो। २७ करोड रूपैयाँमा डीपीआरको जिम्मा लिएको उनको भनाई छ। आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन्। सरकारले आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ।