भारतलाई विद्युत् किन्न नेपालको आग्रह
काठमाडौं,ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालबाट विद्युत् खरिद गर्न भारतलाई आग्रह गरेका छन् । यसअघि नेपालले भारतबाट विद्युत् खरिद गर्दै आएकामा अब नेपाल विद्युत्मा आत्मनिर्भर हुने भन्दै विद्युत् खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न उनले आग्रह गरे ।

‘अहिले हामी भारतबाट विद्युत् खरिद गरिरहेका छौं’, सिंहदरबारस्थित मन्त्रालयमा भारतीय ऊर्जा मन्त्रालयका सचिव सञ्जिव नन्दन सहायसँग भएको छलफलमा उनले ‘अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्ने चाहन्छौं ।’
नेपाल विद्युत् प्राधिकरण र भारतीय केन्द्रीय विद्युत् प्राधिकरण (सीइए) बीच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ । तर, उक्त सम्झौताअनुसार भारतीय ऊर्जा मन्त्रालयले त्यहाँको विद्युत् प्राधिकरणलाई विद्युत् व्यापारको सहमति दिन ढिलाइ भएका कारण उक्त काम सुरु हुन सकेको छैन ।
मन्त्री पुनले दुई देशका प्राधिकरणबीच भएका सम्झौताअनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गरे । जवाफमा सचिव सहायले त्यो छिट्टै हुने प्रतिबद्धता जनाए ।
मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनबारे यसअघि दुई देशबीच पटकपटक छलफल र सहमति भएको स्मरण गराउँदै उक्त काम छिट्टै सक्नुपर्नेमा जोड दिए ।
नेपालले १२ सय मेगावाटको बुढीगण्डकी, ७ सय ५६ मेगावाटको तमोर र ६ सय ३५ मेगावाटको दूधकोसीजस्ता ठूला जलासययुक्त आयोजना निर्माणको काम अघि बढाएको र ती आयोजनाबाट भारतले समेत अप्रत्यक्ष लाभ लिन सक्ने मन्त्री पुनको भनाइ थियो ।
ती आयोजनाबाट भारतको तल्लो तटीय क्षेत्रमा बर्सेनि हुने बाढी/डुबान नियन्त्रण, सिंचाइ, खानेपानी तथा जलयातायातमा लाभ लिन सक्ने उनले बताए । दुवै मुलुकले लाभ लिने भएकाले त्यस्ता आयोजनामा सहकार्य गर्न मन्त्री पुनले प्रस्ताव गरे ।
भारतीय ऊर्जा सचिव सहायले विद्युत् व्यापार सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम छिट्टै अगाडि बढ्ने विश्वास व्यक्त गरे । अरुण तेस्रो जलविद्युत् आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा समेत गरेको मन्त्रालयले जनाएको छ ।
सचिव सहायले नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा थप सहकार्य हुने बताए । नेपालको जलविद्युत् भारतको सौर्य र वायु ऊर्जाको पूरक हुने भन्दै सचिव सहायले नेपालको जलविद्युत् क्षेत्रमा भारतबाट थप लगानी आउने प्रतिबद्धता पनि व्यक्त गरे ।

