अष्ट्रेलियामा विमान दुर्घटना ५ जनाको मृत्यु

सिड्नी, उत्तरी अष्ट्रेलियामा एउटा सानो विमान दुर्घटना हुँदा विमानमा सवार सबै ५ जनाको ज्यान गएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड प्रान्तस्थित केप योर्क प्रायद्विपमा विमान दुर्घटना भएको हो ।

भारी वर्षाका बावजुद विमान उडाइएकाले विमान दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । केप योर्क प्रायद्विपको लकहार्ट नदी नजिकैको धावनमार्ग छेउ विमान दुर्घटना भएको बताइएको छ ।

खराब मौसमका बावजुद विमान चालकले विमान अवतरण गराउन दुई पटक प्रयास गरेको र तेश्रो पटकको प्रयासका क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् । विमान दुर्घटना हुँदा ज्यान गुमाउनेमा चार जना सरकारी कर्मचारी र एकजना चालक रहेको जनाइएको छ।