दादुरा–रुवेला खोप २८ हजार बालबालिकालाई लगाइदै
तनहुँ ,स्वास्थ्य कार्यालय तनहुँले दादुरा-रुबेला रोगविरुद्ध खोप लगाउनका लागि अभियान सञ्चालन गरेको छ।
कार्यालयले तनहुँका २८ हजार ७६४ बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्ध खोप लगाउने भएको छ। रोग नियन्त्रण गर्न र यसबाट हुने मृत्युदरलाई घटाउन मद्दत पुर्याउने उद्देश्यले कार्यालयले अभियान सञ्चालन गरेको हो। पहिलो चरणअन्तर्गत चैत्र १ देखि ९ गतेसम्म र दोस्रो चरण चैत्र १० देखि १८ गतेसम्म बालबालिकालाई खोप केन्द्रहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। चैत्र १ गते देखि १८ गतेसम्म ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई नछुटाई खोप लगाउन निमन्त्रण बाडिएको अधिकारीले बताए।
उनका अनुसार अझै पनि नेपाल भरमा २१ प्रतिशत बालबालिका खोपबाट वञ्चित छन् भने एक प्रतिशत बालबालिका बारेमा नै थाहा नभएको छन्। ७८ प्रतिशत बालबालिकाले पूर्ण खोप रुपमा लगाएका छन्। अधिकारीका अनुसार अभियानअन्तर्गत खोप दिने स्वास्थ्यकर्मीहरुलाई चार दिने तालिम प्रदान गरिसकिएको छ ।
जिल्ला स्तरमा स्वास्थ्य सस्थाका प्रमुखहरुको परिचयात्मक तालिम तथा योजना तर्जुमा गोष्ठी गरिसकिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। ‘पूर्ण खोप लगाऔं, बालबालिकालाई रोगहरुबाट सुरक्षित गराऔं, नियमित खोप कुनै पनि नछुटाऔं’ भन्ने नारा सहित अन्य खोपको फाइदा समेटिएको जनचेतना मुलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको छ।
उनका अनुसार तनहुँमा रहेका ५३० खोप केन्द्रबाट दुई चरणमा काम गर्ने गरी २०४ जना स्वास्थ्यकर्मी खटाइनेछ। पहिलो चरणमा ३७ वडा र दोस्रो चरणमा ४८ वडामा खोप सञ्चालन गरिने उनले बताए। दादुरा अति छिटो सर्ने सङ्क्रमक रोग हो। जुन मिजल्स भाईरसको कारणबाट हुन्छ। रुबेला पनि भाईरस (रुबेला भाईरस) कारणबाट हुने दादुरा जस्तै देखिने सङ्क्रमक रोग हो।
यी रोगहरु सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र यसले छिट्टै महामारीको रुप पनि लिन सक्ने हुँदा नेपाल सरकारकै कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ। ‘नेपालबाट दादुरा–रुबेला रोग पूर्ण रुपमा निवारण गरौं’ भन्ने नाराका साथ अभियान सञ्चालन भइरहेको र हाल बालबालिकालाई खोप लगाउन आउन घर–घरमा पुगेर निमन्त्रण गर्ने काम भइरहेको अधिकारीले बताए।
दादुरा रोगको सङक्रमण भएपछि गम्भीर प्रकारका जटिलताहरु हुनुका साथै मृत्यु समेत हुन सक्ने चिकित्सकको भनाई छ। रुबेला रोगको असर दादुराभन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरु देखापर्ने चिकित्सकको भनाई छ ।