घरबाट विद्यालय हिँडेकी शिक्षिका मृत फेला

ओखलढुंगा , ओखलढुंगाको मोलुङ गाउँपालिका-५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ। मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेकी स्थानीय शिक्षिका करिब २७ वर्षीया हिरा कार्कीको शव बारीको कान्लामूनी भेटिएको हो।

स्थानीय पेसल प्राविमा अध्यापन गराउँदै आएकी कार्कीको बाटोबाट करिब १० मिटर तल बारीको कान्लामूनी शव फेला परेको वडा अध्यक्ष टंकनाथ दाहालले बताए। उनले कार्कीको शवलाई स्थानीयले घोप्टो परेको र मुखबाट रगत बगेको अवस्थामा फेला पारेको बताए। कार्कीको लडेर वा अन्य कारणले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

घरबाट करिब दुई घण्टाको पैदल यात्रापछि पुगिने विद्यालयमा उनी दैनिक सोही बाटो ओहोरदोहोर गर्दै आएको स्थानीयले बताए। जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार घटना शंकास्पद रहेको छ।

लडेर उनको मृत्यु भएको भनिए पनि सानो कान्लाबाट लडेर मृत्यु भएको हो वा हैन भन्ने विषयमा अनुसन्धानपछि खुल्ने प्रतिकृया दिए। अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का संकल गरी शवलाई पोष्टमाटर्मका लागी जिल्ला ल्याउने तयारी गरिरहेको छ। मृतक कार्कीका दुई वर्षका छोरा पनि रहेका छन्।