विद्रोही नेकपाद्धारा जाजरकोटमा खुला जनसभा सम्पन्न
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले संगठन सुदृढ तथा विस्तार अभियान कार्यक्रमलाई जिल्लाका विभिन्न भागमा तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।
शुक्रवार अभियानकै क्रममा पार्टीले जिल्लाको गर्छिनामा एउटा खुला सभा कार्यक्रम सम्पन्न गरेको छ ।
भेरी-कर्णाली जनसांस्कृतिक परिवारको बेजोड सास्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रमको सभापति तथा एरिया न. १ का इन्चार्ज क. महानले थिए, भने कार्यक्रमको प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य निर्मल अन्य अतिथिमा युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष विवश, अखिल (क्रान्तिकारी) जाजरकोटक अध्यक्ष विजय थिए ।
विद्यार्थी नेता समिपले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले वर्तमान दलाल सत्ताले जनताहरुलाई भ्रम मात्रै सृजना गरेर जनता लुट्ने र राष्ट्रघात गरेकाले यिनिहरु विरुद्धको लडाइँमा एकजुट हुन आमजनताहरुलाई आह्वान गरेका थिए ।
साथै, उनिहरुले वर्तमान दलाल संसदिय व्यवस्थाको विकल्प जनताको व्यवस्था वैज्ञानिक समाजवाद नै भएको जिकिर गरे । उक्त कार्यक्रममा स्थानिय जनताको उत्साहपुर्ण सहभागीता रहेको थियो ।

