बैतडीको पहाडी क्षेत्रमा हिमपात

बैतडी , केही दिनदेखिको लगातारको वर्षापछि बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शनिवार हिमपात भएको हो।

खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम नभएको पाटन नगरपालिका–८ खोड्पेका मोहनसिंह ऐरले बताए। हिमपातका कारण उच्च पहाडी क्षेत्रमा चिसो बढेर जनजीवन कष्टकर भएको सिगास–९ चौखामकी लक्ष्मी चन्द शाहले बताइन्।

वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कन समेत मुस्किल भएको उनले बताइन्। चिसोको समयमा श्वासप्रश्वास र निमोनियालगायतको संक्रमण हुने भएकाले वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्।

हिमपात र वर्षा निरन्तर भइरहेकाले बेँसी क्षेत्रमा गहुँबालीमा क्षति भएको किसानहरुले बताए। लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकहरुले बताएका छन्।