कोरोनाको आशंकामा भारतबाट आउँदै गरेका चारजनालाई भेरी अस्पताल पठाइयो
नेपालगन्ज, बाँके नेपाल-भारत सीमा नाका जमुनहामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्रले अनुसन्धानका लागि चारजनालाई भेरी अस्पतालमा ‘रेफर’ गरेको छ। भारतको मुम्बईबाट नेपाल फर्किरहेका चारजनामा ज्वरोको लक्ष्यण देखिएपछि परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको बताइएकाे छ ।
अहेव दुर्गा महत पाण्डेका अनुसार शरीरको तापक्रम मापन गर्दा एकसय डिग्री फरेन्टहाइट भन्दा माथि भएका बिरामीलाई कोरोना भाइरस भए/नभएको पत्ता लगाउन भेरी अस्पतालमा पठाउने गरेको बताइन्। मुम्बईबाट फर्केका अछामका अढाई वर्षे अभिशेक चलाउने, तीन वर्षीया प्रियंका चलाउने, सुर्खेतका तीन वर्षीय जितेन नेपाली र सुर्खेतकै २६ वर्षीय गणेश नेपालीलाई परीक्षणका लागि अस्पताल पठाइएको उनले बताइन्।
‘स्वास्थ्य परीक्षण गराएका मध्ये चारजनामा ज्वरो देखिएकोले थप परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको छ,’ उनले भनिन्, थप परीक्षणपछि मात्र कोरोना भए/नभएको प्रमाणित हुन्छ।’ अस्पतालले स्वास्थ्य परीक्षण गरि रगत जाँचका लागि काठमाडौं पठाउने भएको छ।
शंकास्पद बिरामीको रगतको नमुना टेकुस्थित प्रयोगशालामा पठाउने गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। उनले अहिलेसम्म कारोनोका शंकास्पद बिरामी फेला नपरेको बताए। ‘भाइरल ज्वरो आएका बिरामीलाई पनि कोरोना भाइरस लागेको भनेर अफवाह फैलाउने काम भएको छ,’ डा. थापाले भने। थाहखबरबाट