टिपरको ठक्करले श्रीमतिको मृत्यु श्रीमान गम्भीर घाइते
पाल्पा ,पाल्पामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा तानसेन नगरपालिका-७ का ५५ वर्षीया मधु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। मधुका श्रीमान् मोटरसाइकल चालक ६२ वर्षीय हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन्। घाइते हिमालको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको लु२ख ३१७८ नम्बरको टिपरले सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–७ लामीडाँडामा ठक्कर दिएको थियो। चुनढुङ्गा बोकेर जाँदै गरेको टिपरले अगाडि गुडिरहेको मोटरसाइकललाई विहान साढे ११ बजेतिर ठक्कर दिएको हो।
ओरालो सडकमा लोड बोकेर गुडिरहेको टिपरको ब्रेक थाम्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। टिपरको ठक्करले मोटरसाइकल पल्टिएपछि सडकमा ढलेकी मधुलाई त्यही टिपरको अगाडितर्फको टायरले किचेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जिसीले बताए।