लागुऔषध सहित आठ जना पक्राउ

झापा (भद्रपुर) : झापामा छुट्टाछुट्टै स्थानबाट बुधवार लागुऔषध ब्राउन सुगरसहित आठ जना पक्राउ परेका छन्।

झापा प्रहरीले अर्जुनधारा र मेचीनगरबाट उनीहरूलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क नजिकैको एक होटेलबाट लागु औषध ब्राउन सुगरसहित छ जना पक्राउ परेका हुन्‌।

पक्राउ पर्नेमा पाँचथर फाल्गुननन्द ३ का २५ वर्षीय विवेक तामा, सोही ठाउँका २१ वर्षीय समीर लिम्बु, २४ वर्षीय सन्जु चेम्जुङ, १८ वर्षीय दिपेन नेम्वाङ, अर्जुनधारा ६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा २ का २० वर्षीय सन्तोष तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटेलको एक कोठामा चेकजाँच गर्ने क्रममा उनीहरूसँग ३९ ग्राम २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा बरामद गरेको हो। पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित भन्सार गेट अगाडिबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चेकजाँचको क्रममा अर्जुनधारा ११ का २३ वर्षीय समीर माझी र सोही ठाउँका २२ वर्षीय सुरज माझीले (फुलकोपी) तरकारीमा लुकाइछिपाई ल्याएको अन्दाजी ४ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।