बिभिन्न देशका प्रधानमन्त्रीले गरे ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौँ, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन्।
ओलीलाई आजबाट तरल र नरम आहार दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए। खड्काले ओलीका सबै भाइटल र ल्याब सूचकहरु पनि सामान्य अवस्थामा रहेको बताएका छन्।
प्रधानमन्त्रीलाई मृगौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि स्थिर रहेको बताइएको छ। उनलाई पनि आजबाट तरल र नरम आहार दिन सुरु गरिएको उनले बताए।
भारत, पाकिस्तान, जापान लगायत देशका प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए।
थापाले नेपालका लागि चिनियाँ, जापानी र पाकिस्तानी राजदूतहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको उनले बताए।
जापान र पाकिस्तानका राजदूतले अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् भने चिनियाँ राजदूतले टेलिफोनमार्फत स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्रीको ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो। १२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो।