प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, बेलुका जाउलो दिइने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ। चिकित्सकका अनुसार सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ ।
हाल प्रधानमन्त्रीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए। चिकित्सकका अनुसार आजै बेलुकासम्म जाउलो खुवाउने तयारी गरिएको छ।
ओलीलाई आजै बिहान चिकित्सकहरुले कालो चिया पिउन दिएका थिए। बुधबार गरिएको प्रत्यारोपणपछि मिर्गौलाले राम्रो काम गरेर ओलीको शरीरबाट १० लिटर भन्दा बढी युरिन बाहिरिएको उनका निजी चिकित्सक डा. अरुण सायमीले बताए। प्रधानमन्त्री ओलीलाई अङ्गदान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख छ।
उनलाई पनि तरल र नरम आहार दिन थालिएको प्रा डा खड्गाले जानकारी दिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताए।