प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लव नभएको प्रहरी निष्कर्ष

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरुवा विप्लव समूहसँग आवद्धता नरहेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेपछि प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकुल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिले अनुसन्धान गरेर प्रतिवदेन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई बुझाएको छ । अध्ययनका क्रममा तिरुवाको वुवा द्वन्द्वकालमा मारिएको हुँदा उनी सहिद परिवारकै रहेको र उनको वुवा द्वन्द्वकालमा राज्यपक्षबाट मारिएको पाइएको उल्लेख गरिएको छ ।

तर नेकपाको जुम्ला कमिटिले भने एक विज्ञप्ति जारी गर्दै रतनका बुवा जनयुद्धका क्रममा सहिद नभएको दाबी गरेको थियो । समितिका संयोजक एसएसपी थापाका अनुसार प्रतिवेदनमा उनको विप्लव समूहसँग कुनै संलग्न नपाइएको उल्लेख भएको जानकारी दिए ।

गत १८ फागनुमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा क्रममा अध्यक्ष प्रचण्डमाथि जुम्ला सिन्जा गाउँपालिका–२ घर भएका २१ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए । कार्यक्रममा प्रचण्डले ‘वर्ग’ बारे गरेको विश्लेषण चित्त नबुझेपछि आवेशमा जुत्ता प्रहार गरेको उनले बयान दिएका थिए ।