नेपालगन्ज विमानस्थलमा पनि‘कोरोना हेल्थ डेक्स’ स्थापना

नेपालगन्ज,बाँके नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपालगन्जको राँझा विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिकाले यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्नका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिबारदेखि हेल्थ डेस्क स्थापना गरेकाे हाे । 

स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले राँझा विमानस्थल भएर ओहोर दोहोर गर्ने यात्रुहरुको बिहान ५ बजेदेखी बेलुका साढे ९ बजेसम्म हेल्थ डेस्कबाट स्वास्थ्य परिक्षण गरिने बताए ।

‘अहिले इन्फाइट थर्ममिटर (शरिरको तापक्रम नाप्ने मेशिन) बाट यात्रुको शरिरको तापक्रम नाप्ने, रुघाखोकी लागेको भेटेमा सामान्य औषधि प्रदान गर्ने साथै परामर्श दिने काम भैरहेको छ’ अधिकृत चन्दले भने । उनका अनुसार शंका लागेको व्यक्ती भेटेमा भेरी अस्पतालसङ्ग समन्वय गरेर आइशुलेसन वार्डमा राखि अनुसन्धान र थप चेकजाँच तथा परिक्षण गरिनेछ ।

कोरोना भाइरसको शंका लागेका व्यक्ती भेटिएमा उनिहरुको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा आजमात्रै प्रमुख जिल्ला अधिरीकारीको संयोजकत्वमा प्रहरी, सेना, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, उपमहानगरपालिका, स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयको बिचमा संयुक्त छलफल गरिएको चन्दले बताए ।

उनले विमानस्थल मात्र नभएर नेपाल भारत सिमामा समेत चार जना स्वास्थ्यकर्मी खटाएर उक्त सेवा प्रदान गरिरहेको बताए । यदि, शरीरको तापक्रम १०० दशमलव ४ डिग्री फरेनहाइट भन्दा बढी भएमा, रुघा लागेमा, घाँटी तथा टाउको दुखेमा, श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परिक्षण गर्न जानू पर्ने चन्दले बताए ।

आज शुरुको दिनमा विमानस्थल भएर प्रस्थान गर्ने यात्रुहरुको मात्र स्वास्थ्य चेकजाँच गरेपनी भोलिदेखी बाहिरबाट आगमन गर्ने यात्रुहरुको पनि स्वास्थ्य चेकजाँच गरिने हेल्थ डेस्कका स्वास्थ्यकर्मी सुरज बोहराले जानकारी दिए ।

उनका अनुसार बिहिवार बेलुका साढे ५ बजेसम्म नेपालगन्ज विमानस्थल भएर बाहिर जाने ९ सय ५० यात्रुहरुको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षणका क्रममा त्यस्तो लक्षण नभेटिएपनी सामान्य रुघाखोकी लागेका २र३ जना व्यक्तिलाई औसधि तथा परामर्श दिएर पठाइएको उनले बताए ।