नगरपालिकाले दूध उत्पादनमा किसानलाई अनुदान दिने
रुकुम , रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले दूधमा अनुदान दिने व्यवस्था गरेको छ।
दूध उत्पादक कृषकहरुलाई प्रोत्साहन दिने र दूध उत्पादनलाई बढाउनका लागि नगरपालिकाले दूधमा अनुदानको व्यवस्था गरेको हो। नगरपालिकाले दूध उत्पादक कृषकहरुलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने तयारी गरेको छ। त्यसका लागि कृषकले वार्षिक ५ सय लिटर दूध उत्पादन गरेको हुनुपर्ने छ। उक्त दूध बजारमा बिक्री गरेको रेकर्डअनुसार नगरपालिकाले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने नगर पशु शाखाले जनाएको छ।
वार्षिक ५ सय भन्दा कम दुध उत्पादन गर्ने कृषकले भने अनुदान पाउने छैनन्। ५ सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने व्यक्ति सहित कृषक समूह समिति, सहकारी तथा व्यवसायिक फर्मले अनुदान पाउनेछन्। अनुदानका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक लाख ६० हजार बजेट विनियोजन गरेको छ।
दूध उत्पादनमा लाग्न कृषकहरुलाई प्रोत्साहन दिन दूधमा अनुदानको व्यवस्था गरेको नगर प्रमुख देविलाल गौतमले बताए। अनुदानका लागि आवश्यक प्रक्रि सहित नगरपालिकामा सम्पर्क गर्न सबै कृषकलाई आग्रह समेत गरेको छ।