कोरोनाको त्रासमा नेपाल, यस्तो छ अहिलेसम्मको अवस्था

काठमाडौं, चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिइरहेको छ । कोरोना भाइसरका कारण विश्वले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ ।

चीनसँग नजिक भएर पनि हालसम्म नेपालमा कोरोना भाइरसको त्रासदी भोग्नु परेको छैन तथापी यसको जोखिम भने उच्च छ । अन्य देशमा कोरोना भाइरसविरुद्ध लड्न विभिन्न कार्यक्रम र ठूलो बजेट छुटिएको अवस्था छ । तर, नेपालमा भने कोरोनाको संक्रमणप्रति भने जस्तो सचेतता अपनाइएको छैन ।

तर, पछिल्ला केहि दिनयता नेपालमा पनि कोरोना संक्रमणको त्रासले धेरै नेपालीलाई तर्साएको छ । ढिलै भए पनि कोरोना भाइरसको सचेतना नेपालमा ढिला गरी अपनाउन थालिएको छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि मात्र नेपाल सरकार तातेको हो ।

भ्रमण वर्ष २०२० कार्यक्रम स्थगित भएको छ भने विभिन्न अन्तर्रा्ष्ट्रिय सभा सम्मेलन पनि स्थगित भएका छन् । सरकारले भीड नगर्न आग्रह गरेको छ ।

पार्टीहरुले समेत आफ्ना कार्यक्रम स्थगित गरेका छन् । विद्यालयलाई परीक्षा चैत ५ भित्रै सकाउन आग्रह गरेको छ । यस्तो लाग्छ कि आर्थिक, सामाजिक स्थिति ठप्प हुँदैछ ।

यस्तो छ अहिलेसम्मको अवस्था

नेपालमा अहिलेसम्म २३ जनाको कोरोना परीक्षण गरिएको छ । एक जनालाई संक्रमण भएको छ । उनी ठीक भइसकेका छन् । २२ जनामा भने संक्रमण नदेखिएको चिकित्सकले बताएका छन् । चार जनाको परीक्षण भइरहेको छ । उनीहरुको बिहीबार साँझसम्ममा रिपोर्ट आउने डा अनु बास्तोलाले बताए ।

चीनबाट ल्याइएका १७५ विद्यार्थी र चालकदलसंगै चिकित्सकको १८ जनाको टोलीलाई १४ दिन क्वारेन्टाइनमा राखिए पनि उनीहरुमा कुनै संक्रमण देखिएन ।

अहिलेसम्म विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नब्बे हजारभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् भने ३ हजार २ सय भन्दा बढीको ज्यान गइसकेको छ ।