प्रधानमन्त्री ओली र मिर्गौलादाता दुवैलाई पोष्ट अपरेटिभ वार्डमा सारियो
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । ओलीलाई केहीबेरअघि अप्रेसन कक्षबाट निकालेर पोष्ट अपरेटिभ वार्डमा सारिएको छ । यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पनि पोष्ट अपरेटिभ वार्डमा सारिएको त्रिवि शिक्षण अस्पताल उच्च स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान १० बजेदेखि शल्यक्रिया शुरु गरिएकोमा करिब ३ बजेतिर सकिएको स्रोतको भनाइ छ । उनको शल्यक्रियामा संलग्न एक चिकित्सकका अनुसार ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । यसैबीच ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ ।
प्राध्यापक डा अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् ।
यस्तै ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीको ०६४ मा पहिलो पटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा. अनन्तकुमारले नै गरेका थिए ।

