झगडा छुटाउन गएका व्यक्तिको हत्या आरोपमा पाँच पक्राउ

जनकपुरधाम , धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरमा झगडा छुटाउन गएकै व्यक्तिको हत्या गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सबैला–१ का १९ वर्षीय कपिल सदा, १९ वर्षीय अशेष यादव, २३ वर्षीय धर्मदेव राउत, २४ वर्षीय जितेन्द्र राउत र वडा नम्बर ४ का १९ वर्षीय सोनु भनिने मोनु यादव छन्। उनीहरुलाई शनिबार विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यस्तै, घटनामा संलग्न भनिएका सबैला–१ का २० वर्षीय अमरजित राउत भने फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक अवधेश यादवले बताए। प्रहरी निरीक्षक यादवका अनुसार उनीहरुले शुक्रबार राति स्थानीय राजाराम कापरसँग विवाद हुँदा उनकी श्रीमती ललिता र सात वर्षीय छोरा वीरेन्द्रलाई बाँसको भाटाले कुटपिट गरेका थिए।

सोही झगडा छुटाउन पुगेका ५५ वर्षीय सत्यनारायण पुलामी पुगेका थिए। त्यसपछि उनीहरुले पुलामीमाथि नै कुटपिट गरी घाइते बनाएका थिए। घाइते पुलामीको उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको प्रहरी निरीक्षक यादवले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान भइरहेको छ।