चिनको वुहान गएका १८ जना चालक आज घर जाँदै

काठमाडौं ,चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको चालक दलका १८ जना आज घर जान पाउने भएका छन्।

चीनबाट उद्धार गरी ल्याइएका विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटी र चालक दलका सदस्यहरूलाई नगरकोटमा गरी छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो। चालक दलका सदस्‍यहरूको दोस्रो चरणको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई आजै घर पठाउन लागिएको स्वास्थ्‍य सचिव खगराज बरालले जानकारी दिए। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको आज १५ औँ दिनमा घर पठाइने भएको हो।

खरिपाटीस्थित क्वारेन्टाइमा राखिएका विद्याथीहरूको भने दोस्रो चरणको परीक्षणको रिपोर्ट आइनसकेकोले उनीहरू भने आजै घर जान पाउने छैनन्। सबै जनाको रिपोर्ट नेगेटिभ आएमा उनीहरू सोमबारसम्म घर जान पाउनेछन्। सरकारले कोरोना अति प्रभावित चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुन ४ गते उद्धार गरी ल्याएको थियो। उनीहरूलाई चीनबाट नेपाल ल्याइएको भए पनि क्वारेन्टाइनमा रहेकाले परिवारले भेट्न भने पाएका छैनन्।