अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान, सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ।

विरामीको चाप दिन प्रतिदिन बढी रहे पनि स्वाथ्यकर्मी नहुँदा विरामी मारमा परेका हुन्। कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी रहेको अस्पतालमा जनशक्ति निकै कम रहेको छ। विगतमा अस्पतालमा दरबन्दीअनुसार कर्मचारी भए पनि समायोजन भएर जाँदा समस्या भएको सल्यान अस्पतालका डा. प्रदिप शर्माले बताए।

उनले भने, ‘करार र केही स्थायी कर्मचारीले अस्पताल चलि रहेको थियो। तर समायोजन भएर गएपछि समस्या भएको छ।’ अस्पताल व्यवस्थापन समिति नहुँदा करारमा कर्मचारी भर्ना गर्न पनि समस्या भएको डा. शर्माको भनाई छ। लामो समयदेखि अस्पताल व्यवस्थापन समितिको वैठ्क वस्न नकस्दा पनि थप समस्या भएको उनको भनाई छ।

प्रदेश सरकारलाई आवश्यक जनशक्ति पठाई दिन ताकेता गर्न समेत जनशक्ति र पैसा पठाउन नसकेको शर्माले बताए। उनले भने, ‘अस्पताल कर्मचारीविहीन हुँदा समेत प्रदेशले केही हेरेको छैन। सवै दरबन्दी अनुसारको कर्मचारी नपाए पनि केही कर्मचारी पठाए सेवा चुस्त द्रस्त हुने थियो।’ प्रत्येक दिन साना ठूला शल्यक्रिया भइरहने बताउँदै डा. शर्माले महिनामा १०/१२ सिजरियन र हाडजोर्नीको शल्यक्रिया हुने गरेको बताए।

दैनिक १० देखि १२ जनासम्म सुत्केरी हुने र दुई नर्शले एक सिफ्टमा २० देखि २५ जनासम्म विरामी हेर्नुपर्ने बाध्यता रहेको नर्स कोपिला रानाले बताइन्। उनले भनिन, ‘दिनमा १०/१२ जना सुत्केरी हुन आउछन्। तिनलाई समय दिनेकी अरु विरामीलाई दिने समस्या छ।’ प्रदेशबाट राखिएका कर्मचारी राम्रो अवसर पाए पछि गएको र अहिले करारमा रहेका केही नर्सले सघाइ रहेको उनको भनाई छ।

आवश्यक जनशक्ति नहुँदा इमर्जेन्सीमा एक जनाले १२ देखि १४ घण्टासम्म ड्युटी दिनु पर्ने बाध्यता रहेको अहेव जीवन पुनले बताए। स्थायी र करार दुवैबाट एकजना पनि चिकित्सक नरहेको डा. शर्माले बताए। एनएसआई नामक एक संस्थाका चार चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आइरहेको उनको भनाई छ।