सार्वजनिक सवारी साधनमा ५००‘डस्बिन’वितरण
संस्कार समाज नेपालले सार्वजनिक सवारी साधनबाट हुने फोहरलाई नियन्त्रण गर्न ५०० ‘डस्बिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङ्कङको सहकार्यमा आज नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधनलाई ‘डस्बिन’ वितरण गरेको हो ।
समाजका अध्यक्ष पशुपति गुरुङ समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेको बताउँछिन् । “व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुन्छ”, उनले भनिन् । संस्कार समाजले यसभन्दा अगाडि नयाँ बसपार्कबाट देशका विभिन्न क्षेत्रमा आवतजावत गर्ने एक हजार सार्वजनिक सवारी साधनलाई जनचेतनामूलक अडियोसहितका पेनड्राइभ वितरण गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनलाई सफा राख्नुपर्ने बताए । “लाखौँ व्यक्ति सार्वजनिक सवारी साधन चढ्ने भएकाले यसलाई सफा राख्नु सबैको दायित्व हो”, उनले भने । विसं २०७४ मा स्थापना भएको समाजले सरसफाइका साथै जनचेतनामूलक र सामाजिक काम गर्दै आइरहेको छ ।