रौतहटमा धारिलो हतियार प्रहार गरी एकको युवकको हत्या
रौतहट , रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् ।
शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले छुरा प्रहार गर्ने आलमलाई नियन्त्रण लिएका जानकारी दिएका छन् । डीएसपी कार्कीका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलमको नाउमाथि परेको थियो ।
शुक्रवार राती आफ्नो घरबाट छुरा लिएर मुस्ताक आलम अब्दुल खैरलाई खोज्दै जाँदा हँथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि दुबैजनाको भेट भएको थियो ।
मोटर चोरीमा नाम लगाउने बिषय लिएर दुबैजनाबीच भनाभन हुँदै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।कुटपिटपछि आक्रोसित मुस्ताख आलमले एक्कासी घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।
छुरा प्रहारगरे लगतै मुस्ताख आलम जमुनिया बाट फरार भएका थिए । घटनापछि विभिन्न प्रहरी कार्यालयबाट झिकाइएको प्रहरी टोलीले गाउँ घेरा हालेको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले घटनाको झण्डै २ घन्टापछी हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका–६ खतवहिया गाँउबाट राति ११ बजे पक्राउ गर्न सफल भएको जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुईसाता अघिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।